FAQs Complain Problems

ऐरावती गाउँपालिकाको परिचय

नेपालको संविधान २०७२ ले घोषणा गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल कार्यान्वयनको महत्वपुर्ण खुड्किलोको रुपमा नेपाल सरकारले २०७३ फागुन २७ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरि संघीय संरचना अनुसारका ७५३ स्थानीय तह रहेको छ । सोही अनुसार ५ नं प्रदेश अन्तर्गत पर्ने प्युठान जिल्लाका ९ स्थानीय तह मध्येको एक गाउँपालिका हो ऐरावती गाउँपालिका। यस गाउँपालिकाको नाम माडि नदि र झिम्रुक नदीको संगम स्थलमा रहेको धार्मिक क्षेत्र ऐरावतीको नामबाट राखिएको हो। प्युठान जिल्लाको सदरमुकाम देखि पुर्व दक्षिण दिशामा पर्ने यो गाउँपालिकाको केन्द्र सम्म आइपुग्न करिव ३९ किलोमिटरको सडक यात्रा गर्नुपर्छ। साविकका ६ वटा गाउँ विकास समितिहरु बरौंला, पकला, दाङबाङ, धुवाङ, रस्पुरकोट तथा बिजुली लाई समेटेर बनाइएको यो गाउँपालिकामा ६ वार्डहरु रहेका छन। साविक धुवाङ गा वि स का वडा नं ७ र ८ तथा रस्पुरकोट गा वि सका ६,७,८ र ९ नं वडाहरु भने क्रमशः सरुमारानी र मल्लरानी गाउँपालिकामा समाहित भएका छन। १५६.75 वर्ग किमि क्षेत्रफल ओगटेको यस गाउँपालिकाको २०६८ को जनगणना अनुसार कुल जनसंख्या २२३९२ रहेको छ।पुर्वमा अर्घाखाँची जिल्ला पश्चिममा सरुमारानी र माण्डवी गाउँपालिका उत्तरमा मल्लरानी र माण्डवी गाउँपालिका र दक्षिणमा सरुमारानी र अर्घाखाँची पर्ने यो गाउँपालिकाको केन्द्र ऐरावती-२ ददेरीपाटामा  रहेको छ।

यहाँ क्षेत्री, ब्राह्मण, गन्धर्भ, ठकुरी, वादी, मगर, गुरुङ, राउत, कुमाल लगाएतका जातजातीहरुको बसोबास रहेको छ। झिम्रुक र माडि नदिको जलाधार क्षेत्रको रुपमा रहेको यो गाउँपालिकामा ऐरावती, बिजुलीकोट, बरौंलाकोट, जाबुनेदह, आलमदेवी मन्दिर, पालुकाथान, काफलबुटा, लिपिकोट आदि मुख्य धार्मिक स्थलहरु रहेका छन। घाटुनाच, मारुनी नाच, सोरठी नाच, सराय नाच जस्ता नाचहरू यहाँका प्रचलित नाचहरु हुन। बिजुलीकोट, बरौंलाकोट, लिपिकोट, दाङबाङको द्वादशी र जाबुनेमा बडा दशैको अवसरमा मेला लाग्ने गर्दछ भने द्वारेघाटको तिहारे षष्टी मेला तथा ऐरावतीको माघे सक्रान्तीको मेला यहाँका चर्चित मेलाहरु हुन। धार्मिक तथा प्राकृतिक सुन्दरतामा सजिएको यो गाउँपालिका धेरै सम्भावना बोकेर अवसरको पर्खाइमा रहेको छ।

२०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या २२,३९२ रहेको छ जसमध्ये महिलाको जनसंख्या १२,७२७ (५६.८४ प्रतिशत) र पुरुषको जनसंख्या ९,६६५ (४३.१६ प्रतिशत) रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार सबैभन्दा बढी मगर जाति ७,८८३ जना (३५.२० प्रतिशत), दोस्रोमा क्षेत्री ४,७५४ (२१.२३ प्रतिशत) र तेस्रोमा ब्राम्हण पहाडी २,१५५(९.६२ प्रतिशत) को बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रूपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको वैज्ञानिक विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिका आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था मात्रामा रहेका छन् भने उच्च शिक्षा विकासको लागि विशेष पहल गर्नुपर्ने देखिन्छ । अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् । यस ऐरावती गाउँपालिकामा ६ वटा मा.वि, ५ वटा नि.मा.वि र ३३ वटा प्रा.वि (सामुदायिक र संस्थागत) गरी जम्मा ४४ वटा शिक्षण संस्थाहरू संचालित छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, साउने र माघे सक्रान्ति, होली, महाशिवरात्री, चैते दशै, कृष्णजन्माष्टमी, ल्होसार, बुद्धजयन्ती आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

जनगणना २०७८ मा ऐरावती गाउँपालिका