FAQs Complain Problems

समाचार

स्थानीय स्वस्थ सस्था हस्तान्तरण र पुर्णखोप सुनिश्चितता तथा दिग्योपनाको अभिमुखिकरण गोष्ठी सप्पन्न ।।

श्रीधर भट्टराई,चैत्र १५,
प्यूठान — जिल्लाका स्वास्थ्य संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । संघीय व्यवस्थाअनुसार जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
स्थानीय तहमा जाने विषयगत कार्यालयमध्ये जिम्मेवारी हस्तान्तरण गर्ने जनस्वास्थ्य प्यूठान पहिलो कार्यालय भएको छ । सम्बद्ध कार्यालयका सबै विवरण २ नगरपालिका र ७ गाउँपालिकालाई बुझाइएको हो ।
स्वास्थ्य सस्थाको भौतिक तथा चल अचल सम्पत्ति, कर्मचारी विवरणसहित जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरिएको जनस्वास्थ्य प्रमुख बिशाल सुबेदीले बताए । संस्थाको जग्गा तथा भवन, खातामा रहेको नगदी रकम, फर्निचर, मेडिकल र इलेक्ट्रिक उपकरण, मौज्दातमा रहेको औषधि, लिखत कागजात र रजिस्टर फारम–फम्र्याट, कर्मचारीको व्यक्तिगत फाइल, दरबन्दी सम्बन्धित गाउँ र नगरपालिकाको स्वामित्वमा हुनेगरी बुझाइएको हो । ‘जनताको स्वास्थ्य सेवाको जिम्मेवारी जनताकै प्रतिनिधिको हातमा सुम्पिएका छौं,’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ ११ मा स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गर्ने निर्णय गरेको थियो । ‘आर्थिक वर्ष ०७४ र ७५ को सुरुबाटै बजेट सहितको कार्यक्रम स्थानीय तहमा गइसकेको छ,’ प्रमुख सुबेदीले भने, ‘स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिका २०७४ लाई आधार मानेर अघि बढेका हौं ।’
स्वास्थ्य संस्था सञ्चालन, व्यवस्थापन, गुणस्तर सुधारका लागि व्यवस्थापन समितिलाई जिम्मेवार बनाउन उनले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सुझाव दिए । ‘जनस्वास्थ्यको भूमिका के हुने प्रष्ट भएको छैन, सानो युनिटका रूपमा रहने भन्ने जानकारी आएको छ,’ उनले भने, ‘चटक्क छाडेर पूर्णरूपमा पछाडि फर्कन खोजेका होइनौं, प्राविधिक विषयमा स्थानीय तहसँग समन्वयकारी र सहयोगी भूमिका निर्वाह गर्छौं ।’ हाल जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेको कार्यक्रमका बारेमा स्थानीय तहलाई जानकारी गराउँदै जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
बालस्वास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रण र खोप सेवालगायतका कार्यक्रमका बारेमा जानकारी दिइएको छ । गाउँपालिका प्रमुखहरूले भने कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या परेको गुनासो गरेका छन । ऐरावती गाउँपालिकाका प्रमुख नबिल बिक्रम शाहले भने ‘डकुमेन्ट हस्तान्तरणसँगै कर्मचारीको व्यवस्थापन गरेको भए अझै राम्रो हुन्थ्यो ।’ जिल्लामा रहेको अधिकार गाउँमा जाँदा जनताले गुणस्तरीय सुविधा पाउने ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्ध बस्नेतले बताए । पर्याप्त संख्यामा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या परेको उनको गुनासो छ । ‘हामीलाई जिम्मेवार बोध बनाएको छ,’ उनले भने ।
ऐरावती गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत अर्जुन सेन ओलीले जिल्लामा रहेको अधिकार गाउँमा जाँदा जनताले गुणस्तरीय सुविधा पाउने भएपनि यसको ब्यवस्थापनमा आफुले जिम्मेवारी पूर्वक कार्य गर्ने बताउँदै यसमा जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानले निरन्तर प्राविधिक तथा अन्य सहयोगको अपेक्षाको लागि अनुरोध समेत गरे ।

आर्थिक वर्ष: