FAQs Complain Problems

कोरोनाबाट जोगिन गाउँ–गाउँमा सचेतना फैलाउँदै गन्धर्व ।

ऐरावती गाउँपालिका, प्यूठान- चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गन्र्धवहरुलाई गाउँमा परिचालन गरिएको छ।  

प्युठानको ऐरावती गाउँपालिकाले स्थानीय गन्धर्वहरुलाई सचेतनामुलक गीतर्फत नागरिकहरुलाई कोरोनाका विषयमा सुसूचित बनाउन अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए।

गाउँपालिकाको वडा नं. ५ सुन्दर डाँडाका ४ जना युवा गन्धर्वहरु परिचालन गरेर सन्देशमुलक जागरण अभियान चलाएको हो। 

गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘संगीतमा रमाउन चाहने अहिलेका पुस्ताले गीतमार्फत आउने शब्दहरुलाई बढी चासो राख्ने भएकाले यस्तो नयाँ प्रयास थालेका हौं, ग्रामिण बस्तीका नागरिकलाई यसबारे सचेत बनाउनका लागि हामीले स्थानीय गन्धर्वहरुको सहयोग लिएका छौं।’

गाउँपालिकाले अभियानमा सहयोग गरेबापत उनीहरुलाई निश्चित पारिश्रमिक निर्धारण गरेको छ। गाउँपालिका अध्यक्ष शाहका अनसुार  अभियानमार्फत लोप हुन लागेको गन्धर्वहरुको पेशाको पनि जगेर्ना हुने र गाउँ गाउँमा प्रत्येक वडामा पुगेर कोरोना भाइरसको संक्रमण हुने कारण, देखा पर्ने लक्षण, बच्नका लागि अपनाइने उपायहरुका बारेमा गीतको माध्यमबाट सर्तक बनाइनेछ। 

अभियानमा अर्जुन गन्धर्व, पुर्ण गन्धर्व, सत्तबहादुर गन्धर्व र सन्तराम गन्धर्व रहेका छन्। 

सचेतना अभियानका क्रममा उनीहरु गाउँमा पुगेर ‘रुघा लाग्छ, ज्वरो आउँछ, टाउको दुख्ने गर्छ, एक जनालाई लाग्यो भने अरुलाई नि सर्छ, हाम्रो जीवन राम्रोसंग सजाउनु, आफु बाँच्नु अरुलाई बचाउँनु’ भन्ने गीत गाँउदै गरेको अवस्थामा भेटिन्छन्।

अर्जुन गन्धर्वले सचेतनाका लागि उत्पिडित वर्गमा रहेको गन्धर्व समुदायलाई छनौट गरेकोमा खुसि व्यक्त गर्दै  यसले गन्धर्वहरुको पेशाको जगेर्ना पनि हुने र दैनिक जिविकोपार्जनमा समेत टेवा पुग्ने बताऐ। यो अभियान आगामी जेठ मसान्तसम्म चल्ने छ।

आर्थिक वर्ष: